महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटार निवासी राधाकृष्ण घिमिरे विगत १५ वर्षदेखि पत्रिका हकरका रूपमा निरन्तर सक्रिय रहँदै आएका छन्। बिहान सबेरै उठेर घर–घरमा पत्रिका पुर्याउने उनको संघर्षपूर्ण यात्रा आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
लामो समयदेखि पत्रिका वितरण पेशामा समर्पित राधाकृष्णले विगतमा विभिन्न राष्ट्रिय दैनिक अन्नपूर्ण , नागरिक, समाचार पत्र, हिमालय टाइम्स, अभियान पत्रिका वितरण कार्य गर्दै आएका थिए। हाल भने उनी मोटरसाइकलमार्फत ‘नयाँ पत्रिका’ दैनिक घर–घरमा पुर्याउँदै आएका छन्।
उनको जीवनको सबैभन्दा प्रेरणादायी पक्ष भने यही पेशाबाट परिवारको भविष्य निर्माण गर्नु हो। पत्रिका हकरको यही आम्दानीबाट उनले आफ्ना छोरालाई CA (चार्टर्ड एकाउन्टेन्सी) र छोरीलाई LLB (कानुन) अध्ययन गराइरहेका छन्।
सीमित आम्दानी र कठिन श्रमबीच पनि शिक्षा नै भविष्यको आधार हो भन्ने विश्वासका साथ उनले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाइरहेका छन्। राधाकृष्णको संघर्षले मेहनत, इमानदारी र दृढ संकल्पले जुनसुकै पेशाबाट पनि सफलता हासिल गर्न सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ।
स्थानीयवासीहरूले उनको निरन्तरता, समयपालन र परिवारप्रतिको जिम्मेवारीको प्रशंसा गर्दै आएका छन्। सामान्य पेशाबाट असाधारण उदाहरण प्रस्तुत गरेका राधाकृष्ण आज समाजका लागि प्रेरणादायी पात्र बनेका छन्।

