काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ जम्मा ७ सिट जितेको छ । नेकपाले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पा जिल्लामा विजय हासिल गरेको हो ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट १० हजार २४० मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । त्यस्तै नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६० मतसहित विजयी भएका छन् ।
यसैगरी सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी भएका छन् भने सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल २१ हजार ६९९ मतसहित प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
त्यस्तै रुकुम पश्चिममा गोपाल शर्मा २१ हजार ६०९ मतका साथ विजयी भएका छन् । कालीकोटबाट महेन्द्र बहादुर शाही ११ हजार ७३९ मतका साथ निर्वाचित भएका छन् भने डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।यससँगै प्रत्यक्षतर्फ नेकपाले प्रतिनिधि सभामा सात सिट सुरक्षित गरेको छ ।

