काठमाडौं । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
केही महिनादेखि अस्वस्थ रहँदै आएकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि बीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो, तर शनिबार राति उनको निधन भएको हो।
सात दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीतमार्फत भारतीय मात्र नभई विश्व संगीतमा गहिरो प्रभाव छोडेकी थिइन्। उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन्।
उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ। उनका छोरा आनन्दले आइतबार दिउँसो निधनको पुष्टि गरेका हुन् भने भारतीय सञ्चारमाध्यमहरूले पनि उक्त खबर सार्वजनिक गरेका छन्। परिवारका अनुसार उनको अन्त्येष्टि सोमबार गरिनेछ।
भारतीय फिल्म संगीतमा अत्यन्तै सफल र लोकप्रिय गायिकामध्ये एक भोसलेको तुलना प्रायः उनकी दिदी लता मंगेसकरसँग गरिन्थ्यो।
सन् १९३३ मा जन्मिएकी उनले ९ वर्षको उमेरदेखि नै व्यावसायिक गायन सुरु गरेकी थिइन्। सन् १९४३ मा पहिलो फिल्मी गीत रेकर्ड गरेकी उनले १९५० को दशकसम्म बलिउडमा आफ्नै पहिचान बनाइसकेकी थिइन्। त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइमा परिरहेकी थिइन्।
सुरुआती चरणमा नृत्यप्रधान गीतमा सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममार्फत गजल गायनमा पनि उत्कृष्टता देखाइन्।
उनी फिल्मफेयर अवार्डमा उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन्। साथै ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन्।
सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा उनले समकालीन संगीतप्रति आफ्नो धारणा राख्दै हालका गीतहरू कम सुन्ने गरेको बताएकी थिइन्। उनले भिमसेन जोशीका गीत, शास्त्रीय संगीत र गजल सुन्ने गरेको उल्लेख गर्दै त्यसबाट सिक्ने र आफ्नो गायन अझ निखार्ने अवसर मिल्ने बताएकी थिइन्।
उनले समकालीन गीतहरूमा उत्कृष्ट शब्दको अभाव देखिने गरेको टिप्पणी गर्दै कहिलेकाहीँ फतेह फतेह अलि खान र सुनिधि चौहानका गीत राम्रो लाग्ने गरेको उल्लेख गरेकी थिइन्।

