काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबीच गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, सीमा अपराध नियन्त्रणसम्बन्धी नेपालको प्रस्तावप्रति चीन सरकार सकारात्मक रहेको उल्लेख गरे।
राजदूत माओमिङले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसैगरी, गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याए।
उनले चीनको सहयोगमा सञ्चालित आयोजनाहरू समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग निर्माणलाई अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणका लागि थप पहल गर्न आग्रह गरे।
भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहमति व्यक्त भएको गृह मन्त्रालयले जनाएको छ।

