काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई साताका लागि युद्धविराममा सहमत भएका छन्। स्ट्रेट अफ होर्मुज तत्काल खोल्ने सर्तसहित गरिएको उक्त सहमतिको जानकारी उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत दिएका हुन्।
ट्रम्पका अनुसार युद्धविराम दुईपक्षीय हुनेछ, जसअनुसार अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन्। साथै, इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही स्थगित गर्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ।
समाचारअनुसार यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि सम्भव भएको हो। उनले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई साताको समय उपलब्ध गराउन युद्धविरामको प्रस्ताव अघि सारेका थिए। यसैबीच, इरानले आफूले अमेरिकामाथि ‘ठूलो विजय’ हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गराएको जनाएको छ।
ट्रम्पले पनि उक्त प्रस्ताव वार्ताका लागि उपयुक्त आधार बन्न सक्ने बताएका छन्। युद्धविराम घोषणा भएसँगै अमेरिकी शेयर बजारमा सुधार देखिएको छ भने कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
विश्लेषकहरूका अनुसार यस कदमले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना बढाएको छ। यसअघि ट्रम्पले इरानको नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनीसहित कडा समयसीमा दिएका थिए। साथै, होर्मुज जलमार्ग नखोले कडा सैन्य कारबाही गर्ने अल्टिमेटमसमेत दिएका थिए।
पाकिस्तानको सक्रिय कूटनीतिक पहलका कारण तत्कालका लागि ठूलो युद्ध टरेको आकलन गरिएको छ। अबको दुई साताभित्र हुने वार्ता सफल भएमा यसले स्थायी शान्तिको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

