काठमाडौं । देशभर आज हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सातै प्रदेशको मौसममा उल्लेख्य परिवर्तन आउने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। ती प्रदेशका धेरै स्थानका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भेग र मधेशसहित तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली कायम रहनेछ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा अन्य क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी र असिनासहित वर्षा हुन सक्ने भएकाले सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Previous Articleनयाँ सरकारको नयाँ कदम: ६ देशका राजदूत किन बोलाईए फिर्ता ?
Next Article अमेरिका-इरानबीच दुई साताको युद्धविराम

