काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अघिल्लो सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त गरेका राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको हो।
फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर तथा दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।
यसअघि पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न देशमा कार्यरत ११ जना राजदूतलाई फिर्ता बोलाएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार फिर्ता बोलाइएका राजदूतहरूलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ।
राजनीतिक पहुँचका आधारमा नियुक्त गरिएका राजदूतलाई फिर्ता बोलाईएको परराष्ट्र स्रोतले बतायो ।

