काठमाण्डौ । होर्मुज जलमार्ग खोल्न शक्ति प्रयोगको अनुमति दिने प्रस्ताव संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रूस र चीनको भिटोका कारण खारेज भएको छ। मंगलबार साँझ भएको मतदानमा यी दुई स्थायी सदस्यले प्रस्तावविरुद्ध उभिँदै इरानप्रति आफ्नो समर्थन स्पष्ट पारेका हुन्।
१५ सदस्यीय परिषद्मा ११ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरे पनि स्थायी सदस्यको भिटोका कारण प्रस्ताव पारित हुन सकेन। पाकिस्तान र कोलम्बियाले मतदान प्रक्रियामा भाग लिएनन्।
प्रस्तावको पक्षमा फ्रान्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका लगायत बहराइन, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, लाट्भिया, लाइबेरिया, डेन्मार्क, ग्रीस, पनामा र सोमालियाले समर्थन जनाएका थिए।
प्रारम्भिक मस्यौदामा संयुक्त राष्ट्रसंघको अनुच्छेद ७ अन्तर्गत शक्ति प्रयोग गरेर जलमार्ग खोल्ने प्रावधान समावेश गरिएको थियो। तर रूस र चीनको कडा विरोधपछि लामो वार्तापछि प्रस्तावको भाषा परिमार्जन गरिएको थियो।
अन्तिम रूपमा मतदानमा प्रस्तुत प्रस्तावले शक्ति प्रयोगको सट्टा व्यापारिक समुद्री मार्ग सुरक्षित बनाउन इच्छुक राष्ट्रहरूले समन्वयात्मक रक्षात्मक कदम चाल्नुपर्ने सुझाव मात्र दिएको थियो।
प्रस्ताव प्रस्तुत गर्ने राष्ट्र बहराइनले संशोधित भाषाले रूस र चीनलाई कम्तीमा तटस्थ रहन प्रेरित गर्ने अपेक्षा गरेको थियो। तर परिणामस्वरूप सुरक्षा परिषद् फेरि विभाजित देखियो र रूस–चीनले आवश्यक परे भिटो प्रयोग गर्न पछि नहट्ने संकेत दिएका छन्।
दुवै राष्ट्रले प्रस्तावले इरानमाथि अत्यधिक कठोर आलोचना गरेको भन्दै आफ्नो विरोध जायज ठहर गरेका छन्।


