काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले मापदण्डविपरीत सञ्चालनमा रहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा गरिएको अनुगमनका क्रममा उनले अवैध रूपमा भइरहेको गिट्टी–बालुवा उत्खननप्रति गम्भीर चासो व्यक्त गरेका हुन्।
अनियन्त्रित उत्खननकै कारण बाढीपहिरोको जोखिम बढ्दै गएको, तर यसको नियन्त्रणका लागि सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको देखिएको उनको गुनासो थियो। “अघिल्ला राजनीतिक शक्तिहरूले सेटिङका आधारमा अवैध क्रसर सञ्चालन गर्न दिएको देखिन्छ, अब यस्ता गतिविधि कडाइका साथ रोकिन्छन् र वैध–अवैध सबैको छानबिन हुन्छ,” उनले स्पष्ट पारे।
गृहमन्त्री गुरुङले मापदण्डविपरीत अनुमति दिँदा जनधनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा सरकारी निकायहरू गम्भीर हुनुपर्ने बताए। रोशीखोला क्षेत्र, पनौतीमा हाल दर्जनौँ क्रसर तथा खानी सञ्चालनमा रहेका छन्।
गत वर्ष असोज दोस्रो सातामा आएको बाढीपहिरोका कारण पनौती नगरपालिकामा एक विदेशीसहित २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन्। नगरपालिकाका अनुसार उक्त विपत्तिमा ५८६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ९४४ घर उच्च जोखिममा परेका छन्।

