काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर ७ हजार ५ सय ४७ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाबाट १३ हजार ५ सय ४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
बाढी, पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी र हिउँपहिरो लगायतका विपद्का कारण ठूलो मात्रामा जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ। तीमध्ये सामान्य सावधानी अपनाउँदा पनि न्यूनीकरण गर्न सकिने आगलागीका घटना सबैभन्दा बढी देखिएका छन्।
उक्त अवधिमा ३ हजार ६ सय ५२ वटा आगलागीका घटना भएका छन्, जसमा १०४ जनाको मृत्यु भएको छ भने ५६३ जना घाइते भएका छन्। आगलागीबाट ४ हजार १८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
बाढीका ३२८ घटनामा ३९ जनाको ज्यान गएको छ, २७ जना बेपत्ता भएका छन् र १४ जना घाइते भएका छन्। त्यस्तै, ६२१ पहिरोका घटनामा ७६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण ४४७ घटनामा ४६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
यसैगरी, ४१९ चट्याङका घटनामा ४८ जनाको मृत्यु भएको छ भने ३१२ जना घाइते भएका छन् र ५२२ परिवार प्रभावित भएका छन्। हावाहुरीका ४७७, वन डढेलाका ३२४, जनावर आक्रमणका ५०९ तथा लेक लाग्ने १३१ घटना समेत भएका छन्।
प्राधिकरणका अनुसार यो तथ्यांक गत वैशाख १ गतेदेखि चैत २४ गतेसम्मको हो। उक्त अवधिमा कुल ४९० जनाको ज्यान गएको, ३८ जना बेपत्ता भएका र १ हजार ९ सय ६५ जना घाइते भएका छन्।

