काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएकी छन्।
मङ्गलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले कर्मचारीहरूलाई मन्त्रीलाई होइन, आम नागरिकलाई खुशी पार्ने गरी काम गर्न आग्रह गरिन्।
‘मन्त्रीलाई खुशी पार्नु पर्दैन, सेवाग्राहीलाई खुशी पार्नुस्,’ उनले भनिन्, ‘कुनै दबाब वा प्रभावमा होइन, कानूनको आधारमा काम गर्नुपर्छ।’
सेवा प्रवाहमा ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झार्नुपर्ने बताउँदै उनले गुनासो आए कानूनअनुसार कारबाही भोग्न तयार रहन चेतावनी दिइन्।
मन्त्री रावलले विशेषगरी नापी र मालपोत कार्यालयमा सेवाग्राहीले सबैभन्दा बढी सास्ती खेप्नु परेको उल्लेख गर्दै अब ती कार्यालयकै सेवा सबैभन्दा सहज हुने गरी सुधार गर्न निर्देशन दिइन्।
‘नापी र मालपोतमा पुग्दा जनताले धेरै हैरानी भोग्ने गरेका छन्, अब यी कार्यालयको सेवा नै सबैभन्दा सहज हुन्छ भन्ने प्रमाणित गर्नुस्,’ उनले भनिन्।

