काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।
निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। त्यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पनि वाचन गर्ने कार्यक्रम रहेको छ।
उता, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। सो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

