काठमाण्डौ । पत्नी हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
बुधबार न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो। कोइरालाले स्वास्थ्यको लगायत कारण देखाउँदै कैदमुक्त गराउन माग गर्दै मंसिर २६ गते रिट दायर गरेका थिए।
यसअघि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सम्बन्धित निकायसँग कारण देखाऊ आदेश जारी गरेको थियो।
कोइरालालाई २०६८ माघमा पत्नी गीता ढकालको हत्या अभियोगमा जिल्ला र उच्च अदालतले जन्मकैद (२० वर्ष)को सजाय सुनाएका थिए। पछि २०७७ असारमा सर्वोच्च अदालतको आदेशबाट सजाय घटेपछि उनी ८ वर्ष ६ महिना कैद भुक्तान गरेर रिहा भएका थिए।
तर २०७९ जेठ १२ गते सर्वोच्चले सजाय घटाउने निर्णय बदर गरेपछि उनलाई बाँकी कैद भुक्तान गर्नुपर्ने भएको थियो।
सर्वोच्च अदालतको यस फैसलासँगै कोइरालाले अब पूरा २० वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ।

