काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकम का अध्यक्ष/सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंविरुद्ध उजुरी परेको छ। उनीहरूले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालमार्फत उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोस्ट गरेको आरोप छ।
उक्त गतिविधि निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीत भएको दाबी गर्दै आयोगले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिएका छन्।
यसैगरी गोरखापत्र संस्थानले मधेस र बाग्मती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि आयोगले स्पष्टीकरण मागेको छ। संस्थानलाई दुई दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको आयोगले जनाएको छ।

