काठमाडौं — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई सघाउने उद्देश्यले भारत सरकारले नेपाललाई सवारी साधन सहयोग गर्ने क्रमलाई निरन्तरता दिएको छ। सोही अन्तर्गत तेस्रो चरणमा २२३ वटा सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
गृह मन्त्रालयमा आज आयोजित औपचारिक कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रतीकात्मक रूपमा सवारी साधन हस्तान्तरण गरेका हुन्।
यी सवारी साधन आगामी निर्वाचन व्यवस्थापन तथा सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउन उपयोग गरिने जनाइएको छ।
यसअघि भारत सरकारले पहिलो चरणमा ६१ वटा तथा दोस्रो चरणमा २५४ वटा सवारी साधन उपलब्ध गराइसकेको छ। गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार भारतको सहयोग निरन्तर जारी रहेको र निर्वाचन तयारीलाई सहज बनाउन यसले महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
यस्तै, भारतीय सहयोगअन्तर्गत नेपाली सेनालाई पनि थप ५० वटा सवारी साधन प्रदान गरिएको छ। राजदूत श्रीवास्तवले ती सवारी साधन प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गरेका हुन्।
नेपाल प्रहरीका लागि आवश्यक केही सामग्री प्राप्त भइसकेको र बाँकी सामग्री प्राप्त हुने प्रक्रियामा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।
भारत सरकारको यो सहयोगले निर्वाचनको व्यवस्थापन, सुरक्षात्मक संयोजन तथा लजिस्टिक क्षमतामा थप मजबुती आउने अपेक्षा गरिएको छ।

