काठमाडौं — सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद मुनाफा व्यापक रुपमा घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा उल्लेख्य रूपमा खुम्चिएको देखिएको हो।
कम्पनीले साउनदेखि पुस मसान्तसम्मको अवधिमा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा टेलिकमले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ६२ करोड १४ लाख १५ हजार रुपैयाँले घटेको देखिएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ लाख २५ हजार रुपैयाँ थियो। यसरी सञ्चालन आय २९ करोड ४८ लाख ५ हजार रुपैयाँ अर्थात् करिब १.७३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
तर कुल आय भने घटेको छ। दोस्रो त्रैमासिकसम्म कम्पनीको कुल आय १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजार रुपैयाँको तुलनामा २९ करोड २० लाख रुपैयाँ कम हो।
कम्पनीको प्रति शेयर आम्दानी (EPS) ४६.२७ रुपैयाँ रहेको छ।
ओटीटी सेवाको प्रभाव, अन्तरआवद्धता आयमा कमी
नेपाल टेलिकमका अनुसार डिजिटल प्रविधिको विस्तारसँगै ओटीटी (Over-the-Top) सेवाको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा कम्पनीको परम्परागत भ्वाइस र एसएमएस सेवाबाट हुने आम्दानीमा नकारात्मक असर परेको हो।
यस्तै, विदेशबाट हुने आगमन कल घटेकाले अन्तरआवद्धता आयमा पनि कमी आएको छ। गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा यस्तो आय करिब ८ करोड ५ लाख ९८ हजार रुपैयाँ अर्थात् ६.१४ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
टेलिकमका अनुसार बैंक ब्याजदर घट्दा लगानीबाट प्राप्त हुने प्रतिफल समेत कम भएको छ। साथै कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार गर्नुपरेकाले सञ्चालन लागत बढेको र त्यसले समग्र आम्दानीमा दबाब सिर्जना गरेको छ।
चुनौतीपूर्ण बजारमा दबाब
दूरसञ्चार क्षेत्र तीव्र प्रतिस्पर्धा, डिजिटल सेवाको विस्तार र परम्परागत सेवाबाट हुने आम्दानी घट्दै जानु जस्ता कारणले दबाबमा परेको देखिन्छ। यस्ता संरचनात्मक परिवर्तनका बीच टेलिकमले सेवा विस्तारलाई प्राथमिकता दिँदै वित्तीय सन्तुलन कायम राख्नुपर्ने चुनौती सामना गरिरहेको छ।

