काठमाडौँ — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउने सम्भावना अत्यन्तै कठिन रहेको बताएका छन्।
पूर्वी चितवनको राप्ती नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरी बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनपछि पनि देशले तत्काल राजनीतिक स्थायित्व पाउनेमा आशंका व्यक्त गरेका हुन् ।
निर्वाचन परिणामबारे प्रारम्भिक विश्लेषण गर्दै पाण्डेले नेपालको विद्यमान निर्वाचन प्रणाली नै एकल बहुमत आउन नदिने संरचनामा आधारित रहेको तर्क गरे। उनका अनुसार ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिटको व्यवस्थाले कुनै पनि दलका लागि स्पष्ट बहुमत हासिल गर्नु निकै कठिन बनाएको छ।
“यस्तो संरचनामा कुनै दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु जस्तै हुन्छ,” पूर्व अर्थमन्त्रीसमेत रहेका उनले भने।
उनले निर्वाचन प्रणालीको यही संरचनाका कारण आगामी सरकार गठन प्रक्रियामा पनि दलहरूबीच सहकार्य र गठबन्धनको राजनीति अपरिहार्य बन्ने संकेत गरे।

