झापा । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन् ।
झापास्थित प्रतिनिधिसभा क्षेत्र नम्बर ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री कार्कीले मतदान गरेकी हुन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको बताइन् र आम मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरिन् ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारको नेतृत्व गर्दै आएकी कार्कीको नेतृत्वमा नै वर्तमान निर्वाचन सम्पन्न भएको हो । सरकारले निष्पक्ष, भयरहित र पारदर्शी वातावरणमा मतदान गराउन आवश्यक सबै तयारी पूरा गरेको दाबी गरिएको छ ।
प्रधानमन्त्री स्वयंले मतदान गरेर लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको उनका सहयोगीहरूले बताएका छन् । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि जनाइएको छ ।

