काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले वर्तमान राजनीतिक परिस्थितिमा संयमता र धैर्यता नै सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।
ललितपुर क्षेत्र नम्बर–३ केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेन्जी विद्रोहपछि आम मतदाता एमालेप्रति नकारात्मक बनेको उल्लेख गर्दै त्यो धारणा परिवर्तन गर्न कार्यकर्ताहरू जनताको घरदैलोमै पुग्नुपर्ने बताए। जनताको कुरा सुन्ने र विश्वास पुनः स्थापित गर्ने अभियानमा लागे सबै समस्या क्रमशः समाधान हुने उनको भनाइ थियो।
भट्टराईले अहिलेको अवस्थामा एमालेभित्र आन्तरिक एकता र संयम आवश्यक रहेको उल्लेख गर्दै लड्नेभन्दा पनि एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे। उनले सुशासन र राज्य सुधारको एजेन्डा बोकेको एमाले जनताको नजिकको पार्टी भएको दाबी गर्दै क्षणिक लोकप्रियता वा पपुलिजम टिकाउ नहुने टिप्पणी गरे।
उनले सिद्धान्त र विचार नमिल्ने शक्तिसँग सरकार गठन गर्नु गलत भएको भन्दै अब एमालेले सरकार बनाउन अनावश्यक सम्झौता नगर्ने स्पष्ट पारे। विगतमा जनतामुखी कार्यक्रम र विकास योजनामार्फत एमालेले उल्लेखनीय काम गरे पनि सरकार गठनसम्बन्धी निर्णयले जनतामा असन्तुष्टि देखिएको स्वीकार गरे।
भट्टराईका अनुसार वर्तमानमा सबैभन्दा बढी राजनीतिक आक्रमण एमालेमाथि भएको छ, जसले पार्टीको प्रभाव कमजोर पार्ने प्रयास भइरहेको संकेत गर्छ। यस्तो अवस्थामा धैर्यता अपनाउँदै जनतासँग नजिक भएर निर्वाचन लड्नु नै उपयुक्त हुने उनले बताए।
कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर–३ का एमाले उम्मेदवार सन्दन थापा मगरले आफू युवाले खोजेको नयाँ अनुहार भएको दाबी गर्दै मतदातासँग समर्थन मागेका थिए।

