कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतारा नजिक बिहान करिब २ः१० बजे विएए १५८२ नम्बरको कार फेवातालमा खस्दा युवकको मृत्यु भएको हो।
दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय चालक अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहका अनुसार चालकले गाडी नियन्त्रण गुमाउँदा कार तालमा खसेको थियो।
घटनाको खबर पाएपछि कालिका गणबाट खटिएको गोताखोरसहित २१ जनाको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। गोताखोरले चालकलाई अचेत अवस्थामा तालबाट बाहिर निकाली उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त सवारीसाधन क्रेनको सहायताले तालबाट निकालिएको छ। प्रहरीले थप अनुसन्धानका गरिरहेको छ । गाडी वडा प्रहरी कार्यालय बैदाममा राखिएको जनाइएको छ।

