काठमाडौं । आम जनता पार्टीले व्यापक संरचनात्मक सुधारका एजेन्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। रिपोर्टर्स कल्व भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ पत्रकार तथा नेता ऋषि धमला, सहअध्यक्ष तिलक थापामगर लगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्म व्यापक परिवर्तन गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रत्यक्ष कार्यकारी र निर्वाचन सुधार
आम जनता पार्टीले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा काम नगर्ने जनप्रतिनिधिलाई कार्यकालमै फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ लागू गर्ने प्रस्ताव गरेको छ। साथै, सरकारले कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्नुपर्ने धारणा अघि सारेको छ। पार्टीको घोषणा पत्रमा गैरआवासीय तथा विदेशीलाई नागरिकता दिने प्रावधानको पुनरावलोकन गर्ने एजेन्डा पनि समावेश छ।
भ्रष्टाचार नियन्त्रण र न्यायिक सुधार
भ्रष्टाचारविरुद्ध जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने, सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइन सार्वजनिक गर्ने तथा नीतिगत भ्रष्टाचारमा संलग्न व्यक्तिको सम्पत्ति जफत गर्ने योजना सार्वजनिक गरिएको छ। न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने प्रतिबद्धता पनि गरिएको छ।
रोजगारी र आर्थिक कार्यक्रम
‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने, बेरोजगारलाई भत्ता दिने र नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्य घोषणापत्रमा उल्लेख छ। युवा उद्यमीलाई १० देखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी उपलब्ध गराउने तथा प्रत्येक विद्यार्थीलाई कम्तीमा एक उच्च प्राविधिक सीप अनिवार्य सिकाउने योजना अघि सारिएको छ।
शिक्षा, स्वास्थ्य र आधारभूत सेवा
पूर्ण साक्षर राष्ट्र निर्माण, स्मार्ट कक्षाकोठा, ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम लागू गर्ने योजना छ। डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने प्रतिबद्धता गरिएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
पूर्वाधार, ऊर्जा र आवास
मुख्य राजमार्ग स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधि निगरानी, सार्वजनिक पार्किङ विस्तार र राजमार्गमा अप्टिकल फाइबरसहित डिजिटल करिडोर निर्माण गर्ने योजना अघि सारिएको छ। विद्युत् उत्पादन र निर्यात वृद्धि गर्दै ‘हिमालयन ओरिजिन’ ब्रान्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। भूमिहीनका लागि भर्टिकल हाउजिङ निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ।

