काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी कॄतु भण्डारी (मेनुका) ले नीति निर्माणको तहमा महिलाको हक, सुरक्षा र समान अवसर सुनिश्चित गर्न आफू सदनमा बुलन्द आवाज बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। चुनाव चिन्ह ‘तारा’ लिएर चुनावी मैदानमा उत्रिएकी भण्डारीले न्यायपूर्ण समाज निर्माण आफ्नो प्रमुख एजेन्डा रहेको बताएकी हुन्।
उनले महिला हिंसा, विभेद, असमान पारिश्रमिक, सम्पत्ति अधिकार र राजनीतिक सहभागिताका सवाललाई अब भाषणमा मात्र सीमित नराखी कानुनी तथा नीतिगत सुधारमार्फत कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याइन्। “महिलाको सम्मान र सुरक्षाविना समृद्ध समाज सम्भव छैन,” उनले भनिन्, “संसद्भित्र र बाहिर दुवै ठाउँमा महिला, युवा र पछाडि पारिएका समुदायको आवाज सशक्त रूपमा उठाउनेछु।”
भण्डारीले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा महिलाको पहुँच विस्तार गर्न विशेष कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिइन्। साथै, स्थानीय तहदेखि संघीय संरचनासम्म महिलाको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न कानुनी सुधार आवश्यक रहेको उनको भनाइ छ।
उनले काठमाडौँ १ का मतदातालाई परिवर्तनको अभियानमा साथ दिन आग्रह गर्दै भनिन्, “यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, न्याय, समानता र सम्मानको पक्षमा उभिने अवसर हो।”
आगामी निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले मतदातासँग अपिल गरेकी छन्।

