काठमाडौं । संघीय संसद्को नयाँ अधिवेशन चैत १६ गते बोलाउने तयारी अघि बढाइएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै अधिवेशन आह्वानको प्रक्रिया अघि बढेको हो।
राष्ट्रपति कार्यालयले संसद् बैठक बोलाउने तयारी थालेको छ भने संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आवश्यक छलफल सम्पन्न गरेको छ।
छलफलअनुसार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने तय गरिएको छ। सो दिन बिहान साढे ११ बजे संसदका ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् भने दिउँसो २ बजे अन्य सांसदलाई शपथ गराउने कार्यक्रम छ।
यससँगै नयाँ संसद् सञ्चालनका लागि आवश्यक प्रक्रिया तीव्र पारिएको छ।

