ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले उठाउँदै आएको ‘राइट टु रिकल’ (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) यसपटक कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्।
ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले सांसदहरूलाई अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न निर्देशन दिएका हुन्।
उनले भने, “सरकार दुई–तिहाइमा रहोस् वा बहुमत–अल्पमतमा जाओस्, त्यसको परवाह नगरी रास्वपाले आफ्नो विधानमा स्थापना गरेको ‘राइट टु रिकल’लाई कडाइका साथ लागू गर्नेछ।”
सभापति लामिछानेले देशको सबैभन्दा ठूलो चुनौती सामाजिक न्याय भएको उल्लेख गर्दै त्यसका लागि निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए। “सामाजिक न्यायबिना समाज टिकाउ हुँदैन। हामी एउटा चुनावका लागि होइन, पुस्तान्तरणका लागि लडिरहेका छौँ,” उनले भने।
उनले वर्तमान व्यवस्था र संविधानप्रति पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै विजयसँगै जिम्मेवारी पनि बढेको उल्लेख गरे। सांसदहरूलाई संविधान, संसद्को नियमावली र पार्टीको विधानअनुसार इमानदार भएर काम गर्न उनले आग्रह गरे।
लामिछानेले आगामी दिनमा सुशासनका क्षेत्रमा नयाँ मानक स्थापित हुने विश्वास व्यक्त गर्दै नेपाललाई लगानीका लागि सुरक्षित देशका रूपमा अन्तर्राष्ट्रिय समुदायमा विश्वास दिलाउने लक्ष्य रहेको बताए।

