काठमाडौं । संसदीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्षका रूपमा फरक–फरक भूमिकामा देखिँदै आएका तीन प्रमुख राजनीतिक शक्ति—नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काम्युनिष्ट पार्टी अब एउटै विपक्षी बेन्चमा बस्ने भएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीनै दललाई हालका लागि प्रतिपक्षी भूमिकामा उभ्याएको हो।
यससँगै संसद्मा नयाँ राजनीतिक समीकरण देखिएको छ।
नेपालको लोकतान्त्रिक यात्रामा २०६३ सालमा लोकतन्त्र स्थापना भई तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसद्मा यी तीनै दल एउटै बेन्चमा देखिएका थिए। तर त्यसयता २०६४ सालको संविधानसभा निर्वाचनपछिका संसद्हरूमा भने यीमध्ये प्रायः दुई दल सत्तामा रहँदा एक दल प्रतिपक्षमा रहने अभ्यास देखिँदै आएको थियो।
यसपटक भने पहिलोपटक तीनै प्रमुख दल एउटै विपक्षी बेन्चमा बस्ने अवस्था बनेको हो। वर्तमान व्यवस्थाअनुसार नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहनेछ भने अन्य दुई दलले पनि प्रतिपक्षकै रूपमा भूमिका निर्वाह गर्नेछन्।
प्रतिनिधिसभा सदस्यहरूले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सो अवसरमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका थिए।
शपथका क्रममा ती तीन दलका सांसदहरू प्रतिपक्षी बेन्चमै उभिएर शपथ लिएका थिए।
संसद्मा दलहरूको बस्ने व्यवस्था सिट सङ्ख्याका आधारमा संघीय संसद् सचिवालयले मिलाएको हो।

