काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर मात्र संविधान संशोधन हुनुपर्ने बताएका छन्।
कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बधाई दिन आयोजित कार्यक्रममा उनले संविधानको रक्षा गर्न दृढतापूर्वक उभिन आग्रह गरे। उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई प्राथमिकतामा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
संविधान संशोधनको विषय उठिरहेको सन्दर्भमा सो मुद्दा संसद्मा प्रवेश गर्न सक्ने उल्लेख गर्दै खड्काले राष्ट्रियता, स्वाभिमान र मौलिक अधिकारमा कुनै सम्झौता गर्न नहुने बताए।
यसपटक संसद्मा वरिष्ठ तथा अनुभवी सांसदहरूको संख्या कम रहेको उल्लेख गर्दै उनले पूर्वसांसदहरूको अनुभवबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।

