काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ।
धुम्बाराहीस्थित एकामा होटलमा आइतबार बसेको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निष्कर्ष निकालेको हो। उक्त बैठकमा पार्टीको आगामी कार्यनीति र रणनीतिबारे विस्तृत छलफल गरिने जनाइएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार अघिल्लो केन्द्रीय समितिबाट कारबाहीमा परेका गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा नबोलाइने निर्णय छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। तर उक्त समितिलाई अस्वीकार गर्दै देउवा र कोइराला समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन रहेको छ।
निर्वाचन आयोगले भने गगन थापाको नेतृत्वलाई नेपाली कांग्रेसको आधिकारिकता प्रदान गरेको छ।

