काठमाडौँ । अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्न आवश्यक अनुमति प्रक्रियालाई थप सहज, छरितो र सेवाग्राहीमैत्री बनाएको छ।
विभागले सूचना जारी गर्दै नेपालका १३ जिल्लाभित्रका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न विदेशी नागरिकले अनिवार्य रूपमा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको स्पष्ट पारेको छ। साथै, यस्तो अनुमति अब अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने भएकाले प्रक्रिया झन्झटरहित र छिटो हुने जनाइएको छ।
यसअघि समूहगत रूपमा मात्रै अनुमति दिइँदै आएकोमा अब एकल पदयात्रीलाई पनि अनुमति दिने निर्णय गरिएको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार पर्यटन क्षेत्रबाट आएको गुनासो र सुझावलाई ध्यानमा राख्दै चैत ८ गतेको निर्णयअनुसार एकल ट्रेकरलाई पनि अनुमति दिने व्यवस्था गरिएको हो।
यद्यपि, पदयात्रा गर्दा अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत आवेदन दिनुपर्नेछ र सम्बन्धित पदयात्रीसँग एक जना लाइसेन्सप्राप्त गाइड अनिवार्य रूपमा खटाइनुपर्नेछ। आपतकालीन अवस्थामा उद्धारको सम्पूर्ण जिम्मेवारी पनि सम्बन्धित एजेन्सीकै हुने व्यवस्था गरिएको छ।
सुरक्षालाई ध्यानमा राख्दै एक गाइडले बढीमा सात जना पदयात्रीको समूह हेर्न पाउने सीमा निर्धारण गरिएको छ। ठूलो समूहमा सुरक्षा व्यवस्थापन जटिल हुने भएकाले यस्तो सीमा तोकिएको विभागले जनाएको छ।
साथै, अनुमति प्रक्रियामा कुनै कठिनाइ आएमा सहजीकरणका लागि +९७७ ९७६१४२३६३६ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
यो निर्णयसँगै निषेधित क्षेत्रमा पदयात्रा व्यवस्थापन थप व्यवस्थित हुने र नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

