काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म ४० हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख डिजिटलाइजेशन गरेको जनाएको छ।
उपमहानिर्देशक दिनेश घिमिरेका अनुसार गत आर्थिक वर्षमा २० हजार र चालु आर्थिक वर्षमा थप २० हजार शिक्षकको अभिलेख डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो। यसै आवको अन्त्यसम्म थप ७ हजार शिक्षकको अभिलेख डिजिटलाइज गर्ने लक्ष्य राखिएको छ।
किताबखानाले सामुदायिक विद्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई निवृत्तिभरण, उपदान, उपचार खर्च, सञ्चित बिदा भुक्तानी, पारिवारिक निवृत्तिभरण तथा शैक्षिक र सन्तति वृत्तिजस्ता सेवा उपलब्ध गराउँदै आएको छ।
शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ अनुसार अवकाशप्राप्त शिक्षकले किताबखानाबाट पेन्सनपट्टा बनाउने व्यवस्था छ भने ६० वर्ष उमेर पुगेपछि शिक्षक अनिवार्य अवकाशमा जाने प्रावधान रहेको छ।
संस्थाले वर्षमा दुई पटक (माघ र वैशाख) अनिवार्य अवकाशमा जाने शिक्षकहरूको अनुमानित सूची प्रकाशन गर्दै आएको छ। चालु आर्थिक वर्षभित्र २ हजार ८३ शिक्षक अवकाश हुने अनुमान गरिएको छ।
किताबखानाले सिटरोल दर्ता तथा प्रमाणीकरण, नोकरी विवरण अद्यावधिक, सेवा अवधि गणना, वार्षिक तलब विवरण पारित, निवृत्तिभरण कोष सञ्चालन, सम्पत्ति विवरण दर्ता लगायत शिक्षकका सेवा–सम्बन्धी सम्पूर्ण काम गर्दै आएको छ।
शैक्षिक सूचना सँगालो, २०८१ अनुसार हाल सामुदायिक विद्यालयमा १ लाख ५६ हजार ६४० शिक्षक कार्यरत छन्, जसमा ८३ हजार ९८९ स्थायी, २९ हजार ६९९ अस्थायी र ३९ हजार ९६२ राहत शिक्षक रहेका छन्।
डिजिटल अभिलेख प्रणालीले शिक्षकसम्बन्धी सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

