ललितपुर । हरिसिद्धीस्थित इँटाभट्टामा पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धीमा रहेको होसना इँटाभट्टामा सोमबार भएको दुर्घटनामा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। पर्खालले किचिएर गम्भीर घाइते भएकी खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अन्य चार जना महिला घाइते भएका छन्। घाइते हुनेमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्।
गम्भीर घाइते जानकी चन्दलाई थप उपचारका लागि मोडल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

