काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशमाथि प्रभावशाली जित दर्ता गरेको छ ।
मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले ७१ रनले बागमतीलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्यो।
२७२ रनको लक्ष्य पछ्याएको बागमती ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै सीमित रह्यो।
बागमतीका लागि विवेक मगरले ३४ रन बनाए भने उत्तम मगरले २६ रन जोडे। यस्तै सुबास खत्रीले २७ रन बनाए भने रिजन ढकाल २० रनमा अविजित रहे।
बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। साथै युवराज खत्री, नन्दन यादव र कमल ऐरीले समान एक–एक विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७१ रन बनाएको थियो। एपीएफका आसिफ शेखले शानदार शतक प्रहार गर्दै ११४ रन बनाए। उनले १४ चौका र ३ छक्काको मद्दतले उत्कृष्ट खेल खेले।
त्यस्तै सन्दीप जोराले ५२ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बमले २९ रन बनाए। युवराज खत्री २६ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले ९ रन जोडे।
बागमतीका लागि बलिङतर्फ रिजन ढकालले ४ विकेट लिए भने इसान पान्डेले २ विकेट झारे। सन्दिप लामिछाने र सोनु देवकोटाले समान एक–एक विकेट लिए।
प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब—सहित सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

