मकवानपुर — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल बनाउन जनताको चाहना र भौगोलिक यथार्थलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
हेटौँडामा आयोजित प्रदेश तथा स्थानीय शासन सबलीयकरणसम्बन्धी नीति संवाद कार्यक्रममा उनले नीति तथा कार्यक्रम प्रभावकारी बनाउन राष्ट्रसेवक कर्मचारीहरूको इमान्दारी, उत्तरदायित्व र कार्यान्वयन क्षमतामा दृढता आवश्यक रहेको बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा पूर्व सचिव एवम् सुशासनविज्ञ उमेशप्रसाद मैनालीले सङ्घीय सुशासन सुधारका लागि मार्गचित्र प्रस्तुत गरेका थिए भने डा. नहकुल सुवेदीले नीति, योजना, बजेट तथा कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानका उपायहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, विभिन्न संसदीय समितिका सभापतिहरू, प्रदेशसभा सदस्यहरू र मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

