काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनका लागि मतदान नगर्ने निर्णय गरेको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार शीर्ष नेताहरूबीचको सहमतिपछि दलको नेता सर्वसम्मत चयन गरिने तयारी गरिएको हो।
निर्वाचित सांसदहरूको सहमतिमै नेता टुंग्याउने सहमति भएको उनले बताए।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाइने निश्चित भएको जनाइएको छ। यसअघि नै पार्टी प्रवेशका क्रममा सभापति रवि लामिछाने र शाहबीच यस्तो सहमति भएको थियो ।
सहमतिलाई औपचारिकता दिन चैत १२ गते केन्द्रीय समितिको बैठक बस्ने तयारी गरिएको छ। त्यसपछि संसदीय दलको नेता चयनबारे राष्ट्रपतिलाई जानकारी गराइने र सोही आधारमा शाह प्रधानमन्त्री नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ।

