काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताको मूल्यांकनका आधारमा गरिएको दाबी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति जनगुनासो बढिरहेको उल्लेख गर्दै न्याय प्रणाली सुधार आवश्यक रहेको बताएकी हुन्।
‘न्याय प्रणालीबारे धेरै समयदेखि जनता गुनासो गर्दै आइरहेका छन्– हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भनेर,’ उनले लेखेकी छन्, ‘एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय हो।’
उपसभामुख ठाकुरले प्रधानन्यायाधीश नियुक्तिको निर्णय कार्यक्षमता र योग्यताको आधारमा गरिएको जिकिर गर्दै यसमा अनावश्यक विवाद गर्न नहुने धारणा राखेकी छन्।
‘प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ। यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन,’ उनले उल्लेख गरेकी छन्।
उनले नियुक्ति प्रक्रिया दलगत प्रभाव वा राजनीतिक निकटताबाट निर्देशित हुँदा त्यसको असर राज्य संयन्त्रमै देखिने टिप्पणी समेत गरेकी छन्।
राज्यका सबै अंगले देश, जनता र राज्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले संविधान, कानुन र जनहितलाई सर्वोपरि मान्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
ठाकुरले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार भएको बताउँदै न्याय सुधारको पक्षमा साथ, सहयोग र समर्थन गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेकी छन्।

