काठमाडौं । संवैधानिक परिषद्ले न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयमा कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सार्वजनिक रूपमा तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।
शनिबार कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विधि र संवैधानिक परम्परामाथि स्वार्थ प्रेरित हस्तक्षेप भइरहेको संकेत गर्दै कडा टिप्पणी गरिन्।
उनले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै अहिलेको प्रक्रियाले निरंकुश प्रवृत्तिको झझल्को दिएको बताइन्।
“वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कामहरूले निरंकुशताको झझल्को दिन्छ,” उनले भनिन्, “औचित्यताको नाममा विधिमा छेडछाड गर्ने कार्य स्वेच्छाचारी शासकका लागि स्वाभाविक हुन सक्छ, तर विधिको शासनमा विश्वास गर्नेहरूका लागि त्यो सह्य हुँदैन।”
मल्लले संविधानको मर्मविपरीत हुने गतिविधिलाई परिवर्तन वा क्रान्तिको नाम दिन नसकिने स्पष्ट पारिन्। संविधानलाई यथास्थितिमा राखेको देखाएर त्यसकै विरुद्ध काम गर्नु गम्भीर विचलन भएको उनको भनाइ थियो।
उनले पछिल्ला राजनीतिक घटनाक्रम र ‘जेनजी आन्दोलन’ पछि देखिएका गतिविधितर्फ संकेत गर्दै संविधानमाथि हस्तक्षेप भइरहेको सांकेतिक टिप्पणी समेत गरिन्।
न्यायालयमाथि दबाब र भय सिर्जना गरेर निष्पक्ष न्याय सम्भव नहुने उल्लेख गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर काम गर्न आह्वान गरिन्।
“डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाइ सरकारको डर होस् वा महाभियोगको,” उनले भनिन्, “डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आह्वान गर्दछु।”
मल्लले संविधान उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म संविधानको इमानदार कार्यान्वयन सम्भव नहुने धारणा पनि राखिन्।

