काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग ले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने तथा तापक्रम बढ्ने प्रक्षेपण गरेको छ।
शनिबार आयोजित राष्ट्रिय मनसुन फोरम कार्यक्रममा विभागले सार्वजनिक गरेको ऋतुगत आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुन अवधिमा धेरै भूभागमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको छ।
विभागका मौसमविद् सुदर्शन हुमागाईँ का अनुसार अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने देखिएको छ।
उनले विश्व मौसम सङ्गठनअन्तर्गतका जलवायु सूचना केन्द्र, दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) लगायत अन्तरराष्ट्रिय जलवायु मोडेलहरूको विश्लेषणका आधारमा मनसुनको अनुमान तयार गरिएको जानकारी दिए।
विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेसका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
यता सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिमी क्षेत्र तथा कोशीका मध्य भूभागमा भने सरदरभन्दा बढी वर्षाको सम्भावना देखिएको छ।
मौसमविद् हुमागाईँका अनुसार हाल प्रशान्त महासागरमा ‘एल–निनो साउदर्न ओस्सिलेसन’ (इएनएसओ) तटस्थ अवस्थामा रहे पनि एल–निनोतर्फ उन्मुख छ। हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसन डाइपोल’ (आइओडी) पनि अहिले तटस्थ अवस्थामा रहेकाले यसको असर मनसुनमा देखिन सक्ने अनुमान गरिएको छ।
यद्यपि, जलवायु प्रणाली समुद्री तथा वायुमण्डलीय अवस्थालगायत विभिन्न कारकमा निर्भर हुने भएकाले यस्ता पूर्वानुमानलाई शतप्रतिशत निश्चित मान्न नसकिने विभागले स्पष्ट पारेको छ।
गत वर्षको अनुमानभन्दा फरक परिणाम
विभागले गत वर्ष अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको भए पनि धेरै स्थानमा औसतभन्दा कमदेखि सामान्य वर्षा मात्रै भएको जनाएको छ।
सुजन सुवेदी का अनुसार गत अक्टोबरमा भएको असाधारण वर्षाले मात्रै समग्र मनसुन वर्षाको परिमाण बढाएको थियो। पश्चिम बङ्गाल क्षेत्रमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावका कारण नेपालका धेरै स्थानमा भारी वर्षा भएको उनले बताए।
उनले दीर्घकालीन प्रवृत्तिअनुसार मनसुन चाँडै सुरु हुने र ढिलो सकिने क्रम बढ्दै गएको जानकारी दिए।
धान उत्पादनमा खडेरीको असर
कृषि तथा पशुपन्छी विकास मन्त्रालय का अनुसार गत वर्ष रोपाइँको समयमा परेको खडेरीका कारण यस वर्ष धान उत्पादनमा कमी आएको छ। विशेषगरी कोशी र मधेस प्रदेशमा खडेरीको असर बढी देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा धानखेती हुने क्षेत्रफल ३.८ प्रतिशतले घटेको छ भने उत्पादन पनि ४.२ प्रतिशतले कमी आएको छ।
गत आवमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएकोमा चालु आवमा घटेर ५७ लाख पाँच हजार १२६ मेट्रिक टनमा सीमित हुने अनुमान गरिएको छ।
मौसम सेवा अझ विश्वसनीय बनाउनुपर्नेमा जोड
सरिता दवाडी ले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अतिवृष्टि र हिमताल विस्फोटजस्ता जोखिम बढ्दै गएकाले मौसम पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन्।
उनले आधुनिक प्रविधिको प्रयोगमार्फत सात दिनसम्मको वर्षा पूर्वानुमानलाई थप विश्वसनीय बनाउने दिशामा काम भइरहेको जानकारी दिँदै दुर्गम क्षेत्रसम्म मौसम सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन्।
त्यस्तै, जलवायु तथा विपद् व्यवस्थापनविद् धर्मराज उप्रेती ले सुपर एल–निनोको प्रभावका कारण दक्षिण एसियामा कम वर्षा र बढी गर्मीको सम्भावना बढेको बताएका छन्।

