काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले संगठनात्मक पुनर्संरचना र राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यसहित महाधिवेशनको मिति घोषणा गरेको हो।
बैठकले राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टीको संगठन सुदृढीकरण अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ। सोअनुसार पार्टी निकट जनवर्गीय संगठनहरूको समायोजन र पुनर्गठन आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
निर्णयानुसार संघीय, प्रदेश, पालिका तथा वडा तहसम्मका संगठनलाई व्यवस्थित र एकीकृत बनाउने प्रक्रिया निर्धारित समयभित्र टुंग्याइनेछ। यसलाई पार्टीको सांगठनिक आधार बलियो बनाउने र तल्लो तहसम्म संगठनात्मक सक्रियता विस्तार गर्ने रणनीतिका रूपमा हेरिएको छ।
त्यसैगरी, बैठकले आगामी कात्तिक १५ गतेभित्र सबै प्रदेशस्तरीय अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ। प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन, सांगठनिक मूल्यांकन तथा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
केन्द्रीय संयोजन समितिबाट पारित यी निर्णयहरूलाई पार्टीको माथिल्लो निकायबाट अनुमोदन गरिने जनाइएको छ।
Previous Articleनेपालको वर्तमान आर्थिक स्थितिपत्र–०८३ सार्वजनिक, रूपान्तरणका बहुआयामिक सम्भावना औँल्याउँदै सात प्रतिशत वृद्धिदरको लक्ष्य
Next Article नारायणदत्त पौडललाई सशस्त्र प्रहरी बलको नेतृत्व

