काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
नेपालको संविधानको धारा ९५ अनुसार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो। प्रतिनिधि सभाको निर्वाचनपछि बस्न लागेको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेको यो पहिलो अवसर हो।
संविधानको धारा ९५ (२) मा प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ।
सङ्घीय संसद् सचिवालयले बैठकका लागि सदस्यहरूलाई पौने ३ बजेभित्र उपस्थित भइसक्न निर्देशन दिइसकेको जनाएको छ।

