कुम पश्चिम । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा हुन बाँकी रहेको बताएका छन्। समाजवादको नयाँ यात्रालाई सफल बनाउन देशभरका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अभियानलाई तीव्र बनाइने उनले स्पष्ट पारे।
मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले समाजवादको लक्ष्य हासिल गर्न विभिन्न कम्युनिष्ट समूहलाई एउटै ठाउँमा ल्याएर नयाँ राजनीतिक यात्रा आरम्भ गरिएको बताए।
उनले भने, “हामी समाजवादको यात्रामा अगाडि बढ्ने दृढ सङ्कल्पसहित अघि बढिरहेका छौँ। यही उद्देश्यका लागि विभिन्न कम्युनिष्ट समूहलाई एकताबद्ध गरेर नेकपा गठन गरेका हौँ। अब बाँकी रहेका कम्युनिष्ट शक्तिलाई पनि एउटै मोर्चामा ल्याउँछौँ।”
संयोजक दाहालले पछिल्ला राजनीतिक उपलब्धिलाई थप व्यवस्थित बनाउन बृहत शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले शान्ति प्रक्रिया, लोकतान्त्रिक उपलब्धि र समाजवादी रूपान्तरणलाई सँगसँगै अगाडि बढाउन व्यापक राजनीतिक एकता अपरिहार्य रहेको धारणा राखे।

