काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बालेन्द्र शाहले आज प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ गराएका हुन्।
यसअघि आजै बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो।
समारोहमा उप राष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहित उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साथै पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि समारोहमा सहभागी भएका थिए।
विशेषत: यसपटकको शपथ ग्रहण समारोहलाई वैदिक–सनातन परम्परासँगै बौद्ध विधिको समिश्रण गर्दै सांस्कृतिक रूपमा भव्य बनाइएको थियो। सात शङ्खबाट गरिएको शङ्खनादसँगै १०८ जना वटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १०८ बौद्ध भिक्षु लामाद्वारा शुभ–मङ्गल पाठ गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई यसअघि बिहीबार पार्टीले संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको थियो।

