काठमाडौँ, चैत १३
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण लगत्तै बसेको बैठकले सरकारका प्रारम्भिक प्राथमिकता र कार्यदिशा तय गर्ने संकेत दिएको छ।
पदभार सम्हालेसँगै प्रधानमन्त्री शाहले नवनियुक्त मन्त्री तथा मन्त्रालयका सचिवहरूलाई स्पष्ट निर्देशन दिँदै जनतामुखी, परिणाममुखी र पारदर्शी शासन सञ्चालनमा केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले ढिलासुस्ती, भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाइने बताउँदै प्रत्येक मन्त्रालयले ठोस कार्ययोजना तयार गरी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो।
बैठकमा प्रशासनिक सुधार, सेवा प्रवाहको प्रभावकारिता, आर्थिक अनुशासन तथा सुशासन प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले जनताको अपेक्षा उच्च रहेको उल्लेख गर्दै परिणाम देखिने गरी काम गर्न मन्त्रीहरूलाई सचेत गराउनुभयो। नयाँ सरकार गठनसँगै पहिलो मन्त्रिपरिषद् बैठकलाई भावी नीति तथा कार्यक्रमको आधार तय गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

