काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्।
नेकपाको ७७औँ स्थापना दिवस तथा व्लादिमिर लेनिन जयन्तीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले वाम शक्तिहरूबीच एकतामा जोड दिएका हुन्।
उनले सन्देशमा भनेका छन्, “नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ।”
प्रचण्डले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्ने दाबी गरेका छन्। साथै विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै श्रमजीवी जनताको पक्षमा क्रान्ति अघि बढाउने जिम्मेवारी अझ बढेको उल्लेख गरेका छन्।
उनले नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै समग्र कम्युनिष्ट आन्दोलनको पुनर्गठनका लागि सबैमा आह्वान गरेका छन्।
त्यसैगरी शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि ती पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन्।
यस अवसरमा प्रचण्डले न्याय, स्वतन्त्रता र समानताका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान प्रकट गरेका छन्।
वि.सं. २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठ को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो। स्थापना कालदेखि नै अघि सारिएको मार्गदिशाअनुसार देश सामन्ती निरङ्कुशताबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गर्दै प्रचण्डले अझै पनि समाजमा विभेद कायम रहेकाले कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त नभएको बताएका छन्।
साथै, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद झन् आक्रामक बन्दै गएको उल्लेख गर्दै उनले लेनिनका विचार र आदर्श अझ सान्दर्भिक बनेको धारणा राखेका छन्।
अन्त्यमा उनले “विगतको समीक्षा र वैचारिक संश्लेषणसहित वामपन्थी आन्दोलनको पुनर्गठनको सङ्कल्प लिन” सबैमा पुनः आह्वान गरेका छन्।

