काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना हुने ७७औँ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। उनको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा लगायतका विषय समेटिने जनाइएको छ।
अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेको थियो भने चैत २६ गते रिहा गरिएको थियो। त्यसपछि पित्तथैलीमा पत्थरीको शल्यक्रिया गराएर वैशाख ५ गते उनी घर फर्किएका हुन्। स्वास्थ्य लाभको क्रममा रहेका ओलीले स्थापना दिवसकै दिन नेता–कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।
कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसङ्गठनका पदाधिकारी, केन्द्रीय सदस्य तथा शुभेच्छकहरूलाई आग्रह गरिएको छ।
नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो।

