काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले अंगीकार गरेको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती अस्थायी भएको टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा संस्थापक नेताहरूलाई स्मरण गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, “जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्।” साथै, कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान व्यक्त गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक अघि बढ्न उनले आह्वान गरेका छन्।
यस क्रममा पोखरेलले पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका संस्थापक नेताहरूको योगदानलाई स्मरण गरेका छन्।
आज पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उपत्यकाभित्रका नेता–कार्यकर्तालाई सहभागी हुन तथा काठमाडौं बाहिर सम्बन्धित कमिटीले आयोजना गरेका कार्यक्रममा समेत सक्रिय रूपमा सहभागी हुन समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह गरेका छन्।

