काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत खड्काले उम्मेदवारी दर्ता गरेका छन्।
पार्टीको आधिकारिक निर्णयअनुसार आफू उम्मेदवार बनेको जानकारी दिँदै खड्काले समितिको नेतृत्व सम्हाल्ने अवसर पाए पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सार्वजनिक लेखा समितिलाई अझ प्रभावकारी, निष्पक्ष र जनउत्तरदायी निकायका रूपमा विकास गर्ने लक्ष्य राखेको उल्लेख गरे। “राज्यका स्रोत–साधनको सही उपयोग सुनिश्चित गर्दै जनताको विश्वास कायम राख्नु मेरो मुख्य दायित्व हुनेछ,” खड्काको भनाइ छ।
खड्काले जिम्मेवारी प्राप्त भएमा इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्दै सार्वजनिक निकायहरूको खर्च र कार्यसम्पादनलाई थप पारदर्शी बनाउने दिशामा सक्रिय रहने बताएका छन्।
यता सरकार संञ्चालन गरिरहेको पार्टी रास्वपाले संसदको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समितिको सभापति दिने निर्णय बिहिबार मात्रै सार्वजनिक गरेको छ ।

