काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ अमेरिका र इरानबीच जारी तनाव न्यूनीकरण र सम्भावित युद्धविरामलाई संस्थागत गर्न कूटनीतिक पहल तीव्र पार्दै कतार पुगेका छन्।
सरिफ बिहीबार दोहा पुगेका हुन्। यसअघि उनले साउदी अरबमा उच्चस्तरीय भेटवार्ता गर्दै वासिङ्टन–तेहरानबीच दोस्रो चरणको शान्ति वार्ताका लागि वातावरण बनाउन पहल गरेका थिए।
प्रधानमन्त्री सरिफको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उनी कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्ने कार्यक्रम छ। भेटमा क्षेत्रीय स्थायित्व, ऊर्जा सुरक्षा र विश्वशान्तिका विषयमा छलफल हुने जनाइएको छ।
पाकिस्तानले मध्यपूर्वमा बढ्दो तनावबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। सोही सन्दर्भमा सरिफले भ्रमणपश्चात टर्कीए जाने कार्यक्रम समेत तय भएको छ।
गत साता इस्लामाबादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन बनेको थियो। अप्रिल ७ देखि सुरु भएको दुई साताको युद्धविरामलाई दीर्घकालीन शान्तिमा रूपान्तरण गर्ने प्रयास पनि तत्काल सफल हुन सकेको छैन।
यसैबीच, अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वका कारण इरानले कतारको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा दोहाले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन अस्थायी रूपमा रोक्नुपरेको थियो।
कतार विश्वका प्रमुख एलएनजी उत्पादकमध्ये एक हो, जसले पाकिस्तानसहित एसियाली राष्ट्रहरूलाई ठूलो मात्रामा ग्यास आपूर्ति गर्दै आएको छ।

