काठमाडौं । लेबनान र इजरायलबीच १० दिनको अस्थायी युद्धविराम सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गर्दै ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
यो युद्धविरामलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’का रूपमा हेरिएको छ। यदि यस अवधिमा कुनै उल्लंघन नभए स्थायी शान्तितर्फको मार्ग खुल्न सक्ने संकेत गरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जोसेफ औन र बेन्जामिन नेतन्याहुसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” भनी दाबी गरेका छन्।
बिहीबार रातिदेखि लागू भएको युद्धविरामअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्वपूर्ण प्रत्यक्ष संवाद हो। ट्रम्पले दुवै देशका नेतालाई ह्वाइट हाउस भ्रमणको निमन्त्रणा समेत दिएका छन्।
लेबनानका राष्ट्रपति औनले ट्रम्पप्रति आभार व्यक्त गर्दै क्षेत्रीय स्थायित्वका लागि निरन्तर प्रयास भइरहेको बताएका छन्। उनले स्थायी शान्तिका लागि पहल जारी रहने उल्लेख गरेका छन्।
यसैबीच, लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्ण रूपमा हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ। हिजबुल्लाहका नेता हसन फदलल्लाहले भने इजरायलको व्यवहारका आधारमा आगामी कदम तय हुने बताएका छन्।

