काठमाडौं । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिन सन्तानले जन्मदात्री आमालाई मीठा–मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहँदै आएको छ।
वैदिक सनातन परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि महान् मानिन्छिन्। नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्तिले आमा र जन्मभूमिको महत्व स्पष्ट पार्दछ।
जीवित आमा हुनेहरूले आजको दिन विशेष रूपमा सम्मान प्रकट गर्दै मिठा भोजन र उपहार अर्पण गर्ने गर्छन् भने आमा दिवंगत भइसकेकाहरूले तर्पण, पिण्डदान र सिदादान गरी श्रद्धाञ्जली अर्पण गर्ने चलन छ। शास्त्रीय मान्यताअनुसार यस दिन गरिने श्राद्धले दिवंगत आमालाई सन्तुष्टि मिल्ने विश्वास गरिन्छ।
यस अवसरमा मातातीर्थमा प्रत्येक वर्षझैँ आज पनि मेला लागेको छ। चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिएका छन्।
मातातीर्थमा विशेषगरी दिवंगत आमाको सम्झनामा श्रद्धालुहरू बिहानैदेखि पुगेर स्नान, तर्पण र पूजा–आराधना गर्ने गर्दछन्।

