काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्दै छ। पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका छन्।
पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा थापाले हालैको निर्वाचन परिणाम, आफ्नो राजीनामाको पृष्ठभूमि र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्ने कार्यक्रम रहेको छ। साथै पार्टीको आगामी राजनीतिक र सांगठनिक कार्यदिशाबारे पनि उनले आफ्ना प्रस्ताव प्रस्तुत गर्नेछन्।
केन्द्रीय कार्यसमितिले थापाको राजीनामा अस्वीकृत गरेपछि पुनः बैठक बोलाइएको हो। यससँगै कांग्रेस अब नियमित महाधिवेशनको तयारीमा केन्द्रित हुने देखिएको छ।
आजको बैठकमा थापाकै सभापतित्वमा महाधिवेशन प्रक्रिया र तयारीबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ। नेताहरूका अनुसार आगामी भदौ महिनामा १५औँ महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिकामाथि समेत छलफल हुनेछ।

