धनुषा । चैती छठ पर्वको मुख्य दिन आज साँझ मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा र भक्ति साथ मनाइँदै छ।
महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा चार दिनदेखि विधिपूर्वक चलिरहेको छठ पर्वअन्तर्गत आज षष्ठी तिथिको साँझ व्रतालुहरू विभिन्न पोखरी, नदी तथा जलाशयमा पसेर अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ अर्पण गरिरहेका छन्।
आजको दिन व्रतालुहरूले घरमै तयार पारिएका परम्परागत परिकार—ठकुवा, भुसवा, खजुरीया, पेरुकिया लगायत मिठाइ तथा फलफूल, मुला, गाजर, नरिवल, केरा आदिसहित पूजा सामग्री नाङ्लो र ढाक्कीमा सजाएर गीत–भजन गाउँदै छठ घाटसम्म पुग्ने गर्छन्। त्यसपछि जलाशयमा उभिएर सूर्यास्तसम्म पूजा गर्दै अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ।
गत आइतबारदेखि सुरु भएको यस पर्वको दोस्रो दिन ‘खर्ना’ सम्पन्न भइसकेको छ, जहाँ व्रतालुले दिनभर उपवास बसेर साँझ कुलदेवता र सूर्यदेवलाई निम्तो दिएका थिए। आज तेस्रो दिन अर्थात् मुख्य पूजा सम्पन्न हुँदैछ।
महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, बर्दिवासलगायत स्थानका पोखरी, तलाउ तथा बिग्ही, रातो मरहा, जङ्गहा र अङ्कुसी नदी किनारमा विशेष चहलपहल देखिएको छ। श्रद्धालुहरूको ठूलो भीडले छठ घाटहरू भरिभराउ बनेका छन्।
धार्मिक विश्वासअनुसार पारिवारिक सुख, शान्ति, समृद्धि तथा रोगमुक्तिको कामना गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यको पूजा गरिन्छ। सामाजिक सद्भावको प्रतीक मानिने यो पर्व हिन्दू मात्र नभई अन्य समुदायले पनि मिलेर मनाउने परम्परा रहेको छ।
पर्वको अन्तिम दिन भोलि बिहान व्रतालुहरू पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न गर्नेछन्।

